सफा र हरियाली बनाइँदै विराटनगर



विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाइ अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार बिहानको समयमा सरसफाइ अभियानअनुसार आज महानगरपालिकाको बसपार्क क्षेत्रमा सफाइ अभियान सञ्चालन गरियो ।

बसपार्क टोल विकास समिति र जिल्ला प्रहरी कार्यालयको समुदाय– प्रहरी साझेदारीद्वारा संयुक्तरुपमा आयोजित सरसफाइ अभियानमा महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की र मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको सहभागिता रहेको थियो ।


बसपार्कबाट सञ्चालित सफाइ अभियान नयाँ गुद्रीलगायत जनथप टोलसम्म सञ्चालन गरिएको छ । सरसफाइ अभियानमा वडा नं ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, टोल विकास समितिका अध्यक्ष पदम श्रेष्ठ, महानगरका कर्मचारी, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, प्रहरी र होटल व्यवसायी एवं सर्वसाधारणको सहभागिता रहेको थियो ।

सो अवसरमा ‘आफ्नो घर आँगन आफैँ सफा राखौँ, सफा, सुन्दर महानगर बनाऔँ’ नारासहित कार्यक्रम गरिएको थियो । सफाइ अभियानबाट नगर क्षेत्र केही दिनदेखि सफा र हरियाली देखिएको छ । नगरवासीमा सरसफाइप्रति चेतना अभिवृद्धि भएको पाइएको छ ।