संविधान दिवसका अवसरमा उपत्यकामा एमालेले आयोजना गरेको पदयात्रा (फोटोफिचर)



काठमाडौँ । नेकपा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आज काठमाडौं उपत्यकामा वाकथन (पदयात्रा) कार्यक्रम आयोजना गरेको छ ।

पदयात्राको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट विहान ७ बजे हजारौं मानिसहरूको सहभागितामा पदयात्रा शुरू भएको थियो ।


अध्यक्ष ओलीले नयाँ बानेश्वरबाट पदयात्राको नेतृत्व गरेका थिए । पाँचै ठाउँका पदयात्रामा पार्टीका पदाधिकारी तथा केन्द्रीय नेताहरूले नेतृत्व गरेका थिए ।

लैनचौरबाट पदयात्राको नेतृत्व बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए भने मैतीदेवीमा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र सुवास नेम्वाङ, कुपन्डोलबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कालिमाटीबाट पदयात्राको नेतृत्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेका थिए ।

अन्य नेताहरू, सांसदहरू पाँचवटा प्वाइन्टमध्ये आफूलाई पायक पर्ने ठाउँमा सहभागी भएका थिए । सबै टोली शहीद गेट पुगेपछि अध्यक्ष ओलीको नेतृत्वमा पदयात्रा बसन्तपुर पुगेको थियो । पदयात्रामा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरू, पेशा, व्यवसायमा संलग्न आम जनसमुदायकोसमेत सहभागिता रहेको थियो ।

संविधान निर्माण, यसको कार्यान्वयन, संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एमालेले संविधान जारी गर्दा र कार्यान्वयनका चरणमा भोग्नुपरेका कठिनाईलाई समेत स्मरण गर्दै संविधानप्रति आम नागरिककोे अपनत्व बढाउने र संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने परम्परालाई विशेष महत्व दिन चाहेको छ ।

२०७२ साल असोज ३ गते संविधान सभाबाट ‘नेपालको संविधान–२०७२’ जारी भएको हो । संविधान जारी भएको सातबर्ष पूरा भएको र यसबर्ष आठौं संविधान दिवस मनाइँदै छ ।