विराटनगर महानगरले सञ्चालनमा ल्यायो हटलाइन सेवा



माेरङ । विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ ।

महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले जानकारी दिए । “कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने यो सेवा चौबीसै घण्टा खुला रहनेछ”, उनले भने, “त्यस्ता गुनासा र समस्या प्राथमिकताका आधारमा समाधान गरिने छ ।”


महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बर १६६०२१४२२२२ रहेको छ । महानगरवासीले इमेल गरेरसमेत आफ्ना गुनासा र सुझाव दिन सक्ने व्यवस्था मिलाइएको प्रमुख कोइरालाको भनाइ छ । उनका अनुसार केही हप्ता पहिलादेखि नै हटलाइन सेवा परीक्षणका लागि सञ्चालनमा ल्याइएको थियो ।

असोज १ गतेदेखि भने औपचारिकरूपमा सञ्चालनमा ल्याइएको हो । हटलाइन व्यवस्थापनको जिम्मा नगर प्रहरीलाई दिइएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन् । हटलाइनमार्फत आएका गुनासा र सुझाव नगर प्रहरीले टिपोर्ट गरेर प्रमुख एवं उपप्रमुखसहित सम्बन्धित महाशाखा र शाखा प्रमुखलाई उपलब्ध गराउनेछ ।