विकास निर्माणमा तीन तहको सरकारको सहकार्य आवश्यक : मन्त्री चौधरी



तनहुँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले विकास निर्माणमा तीन तहको सरकारको सहकार्य आवश्यक रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–५ मानुङकोट जाने पर्यटकीय मार्गमा गरिएको कालोपत्रको साेमबार उद्घाटन गर्दै मन्त्री चौधरीले सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यले मात्र विकास निर्माण दिगो हुने उल्लेख गरे ।

मन्त्री चौधरीले सहमति र सहकार्यले मात्रै सफलता मिल्ने बताउँदै भने, “सबै मिलेर देशलाई विकास गर्ने हो, विकासको काममा राजनीतिक दल पनि एकजुट हुनुपर्छ ।” सबै नेपालीलाई सुखी बनाउने सरकारको लक्ष्य रहेको भन्दै मन्त्री चौधरीले पर्यटनमार्फत आम्दानीको स्रोत बढाउनेतर्फ ध्यान दिन आग्रह गरे ।


मानुङकोटले पर्यटनमा फड्को मार्दै गइरहेकाले कालोपत्रे भएको सडकले मानुङकोटको प्रवद्र्धनमा थप टेवा पुग्ने मन्त्री चौधरीको विश्वास थियो । “बाटो कालोपत्रे भयो, अब आम्दानीको स्रोत बढाउनेतर्फ पनि स्थानीयवासी लाग्नुपर्छ,” चौधरीले भने । चौधरीले मानुङकोटसम्म कालोपत्रे गर्न बाँकी रहेको खण्डलाई पनि आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री चौधरीले आउँदो मङ्सिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने भन्दै थपे, “चुनाव जित्नका लागि मात्रै गठबन्धन होइन, देश निर्माणका लागि गठबन्धन गरेका हौँ ।” व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानुङकोटको विकास अभियानमा नगरपालिका क्रियाशील रहेको बताए ।