रोजगार सिर्जना गरेर युवा पलायन हुनबाट रोक्छौँ : मुख्यमन्त्री पाण्डे



हेटाैँडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारले युवा पलायनलाई रोक्नका लागि योजना बनाएको बताएका छन् ।

युवा सङ्घ नेपालको मेची–महाकाली युवा जागरण अभियानलाई प्रदेश राजधानी हेटौँडामा स्वागत गर्दै उनले विदेशमा बगाएको पसिनाबाट आएको विप्रेषणबाट देश चलाउनुभन्दा युवाको सीप र पसिनाले समुन्नत बनाएर देशको मुहार फेर्न सकिने बताए ।


युवालाई सीप सिकाएर विकासको लहर ल्याउनुको साथै रोजगार सिर्जना गर्न सकिने मुख्यमन्त्री पाण्डेले बताए । प्रदेशमा पछि परेको वडामा समाजवादी वडा कार्यक्रम ल्याएर शिक्षा, स्वास्थ्य र रोजगार सिर्जना गरिने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना लामालगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।