रुसी सेनाको कारबाहीमा सिरियामा १२० विद्रोहीको मृत्यु



रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् ।

अल कायदा आतङ्ककारी समूहसँग आबद्ध रहेको बताइएको छ । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा सो समूहका लडाकाहरुले हिंसा मच्चाइरहेका छन् ।


तिनै समूहका लडाकाहरुलाई लक्ष्य गरेर बिहीबार रुसी सेनाले सिरियाको उत्तरपश्चिमी एक प्रान्तमा हवाई कारबाही गरेको हो । रुसी सेनाको सो हवाई कारबाहीका क्रममा परेर कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् भने अरु केही घाइते भएका छन् ।

सिरियाली इदलिब नगरको नजिक समूहको तालिम केन्द्र सञ्चालनमा रहेको सूचनाका आधारमा सैन्य हमला भएको थियो । बिहीबार सो क्षेत्रमा रुसी लडाकू विमानले १४ वटा आक्रमण गरेका थिए ।

त्यस क्रममा यहाँ रहेको सो तालिम केन्द्रका सामग्रीहरु पनि ध्वस्त भएका थिए भने सो तालिम केन्द्रमा आश्रय लिएर बसेका लडाकाहरु मारिएका थिए ।