रुसमा युद्धविरोधी सयौँ प्रदर्शनकारी पक्राउ



युक्रेनमा लड्न हजारौँ जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयविरुद्ध प्रदर्शन गरिरहेका सयौँ प्रदर्शनकारीलाई रुसी प्रहरीले पक्राउ गरेको विवरण छ । रुसी मानवअधिकार समूह ओभीडी–इन्फोले कुल एक हजारभन्दा बढी मानिसहरू पक्राउ परेको बताएको छ ।

सेन्ट पिटर्सबर्ग र मस्कोमा सबैभन्दा धेरै पक्राउ परेका छन् । इर्कुत्स्क र अन्य साइबेरियन सहरहरू तथा येकातेरिनबर्गमा दर्जनौँ प्रदर्शनहरू भएका छन् ।


राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानका टिकटहरूको तीव्र रूपमा बिक्री भएको छ । पुटिनले आंशिक रूपमा सेना परिचालनको आदेश दिएका छन् । उक्त आदेशसँगै हाल जगेडामा राखिएका करिब तीन लाख सैनिकहरूलाई युक्रेनी युद्धभूमिमा हालै रुसी सेनाले बेहोरिरहेको प्रत्याक्रमणको प्रतिरक्षामा प्रयोग गरिनेछ ।

जगेडा सेनामा ती मानिसहरू समेटिएका छन् जसले अनिवार्य रूपमा रुसी सैन्य सेवा गर्नुपर्छ । रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रहरूमा रुसमा सामेल हुनेबारे जनमतसङ्ग्रह गर्ने घोषणा गरिएको भोलिपल्ट उक्त घोषणा गरिएको हो ।

युक्रेन र उसका साझेदारहरूले निन्दा गरेको टिप्पणीमा पुटिनले रुसी क्षेत्रको रक्षा गर्न सबै उपलब्ध साधनहरू आफूले प्रयोग गर्ने बताएका छन्। त्यसमा आणविक अस्त्र पनि समावेश हुन सक्नेछ।