रुसमा अझै पनि कोरोनाको महामारी, एक दिनमा झण्डै ३७ हजार सङ्क्रमित



विश्वको शक्तिशाली राष्ट्र रुसमा अझै पनि कोरोना भाइरसको महामारी फैलिइरहेको छ । 

कोरोना भाइरस विरुद्धको खोप समेत आविष्कार गरेको रुसले आफ्नै देशमा त्यसको महामारी नियन्त्रण गर्न भने अझैसम्म पनि असफल भएको हो ।  सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार रुसमा अहिले पनि दैनिक झण्डै ३७ हजार मानिस कोरोना भाइरसबाट सङ्क्रमित हुने गरेका छन् ।  


रुसको आधिकारिक निकायले मङ्गलबार थप ३६ हजार ६०५ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरेको छ । योसँगै अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड आठ लाख ६९ हजार ७१४ पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।  

त्यसैगरी कोरोना भाइरसका कारण रुसमा अहिलेसम्म कुल तीन लाख ८६ हजार ९४३ जनाको मृत्यु भएको छ । ती मध्ये १०१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । रुसमा कोरोना भाइरस नियन्त्रणका लागि प्रयास भइरहेपनि देशका विभिन्न ठाउँमा अहिले पनि सङ्क्रमण फैलिइरहेको छ ।