काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गत चार वटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बिहीबार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित समिति सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि चार जनाको मात्र उम्मेदवारी परेपछि बिहीबार नै बसेको सम्बन्धित समितिको बैठकले उनीहरूलाई निर्विरोध सभापति चयन गरेको थियो ।
जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. वेदुराम भुषाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापाले शपथ लिएका छन् ।