राष्ट्रियसभाअन्तर्गतका समितिका सभापतिको निर्वाचन २३ गते



काठमाडाैँ । राष्ट्रियसभाका विषयगत समितिको रिक्त सभापतिको निर्वाचन यही भदौ २३ गते हुने भएको छ ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० बमोजिम विषयगत समितिको सभापतिको निर्वाचनको मिति तोकेका हुन् । उनले समिति सभापतिको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँललाई निर्देशन दिए ।


त्यसअघि अध्यक्ष तिमिल्सिनाले सांसद अनिता देवकोटालाई राष्ट्रिय सरोकार समितिबाट विधायन व्यवस्थापन समितिमा तथा सांसद प्रकाश पन्थलाई विधायन व्यवस्थापन समितिबाट दीगो विकास तथा सुशासन समितिमा राखिएको जानकारी गराएका थिए । समिति हेरफेरसम्बन्धी अध्यक्ष तिमिल्सिनाको प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही भदौ २१ गते मङ्गलबार अपराह्न १२ः५९ बजे बस्नेछ ।