बारामा उद्योग लुट्न आएका डाँका र प्रहरीबीच गोली हानाहान , एक प्रहरीसहित दुईजना घाइते



बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका– २३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न आएको हतियारधारी डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । करिब १५/२० जनाको डाँका समूहले शनिबार मध्यरात उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।

उद्योगका कर्मचारीले खबर गरेपछि तत्कालै प्रहरी पुगेको थियो । प्रहरीलाई देखेर डाँका समूहले फायर गरेका थिए । त्यसपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरेको बुझिएको छ ।


भाग्ने क्रममा दुई जना डाँकालाई प्रहरीले पक्राउ गरेको छ । बाराका प्रमुख प्रहरी तथा एसपी होबिन्द्र बोगटीले दुई जना डाँका पक्राउ परेको तथा घटनास्थलबाट बन्दुक, कटुवा पेस्तोल र तीन राउण्ड गोली पनि बरामद भएको जानकारी दिए ।

उनका अनुसार डाँका समूहले फलामको रड प्रहार गर्दा वरिष्ठ सई कमलबहादुर शाही घाइते भएका छन् । टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि वीरगञ्ज लगिएको छ ।