प्रथम मेयर कप फुटबलको उपाधि नवयुवा क्लबलाई



तनहुँ । प्रथम मेयर कप फुटबलको उपाधि नवयुवा क्लब भादगाउँले जितेको छ । सदरमुकाम दमौलीमा बुधबार सम्पन्न फाइनल खेलमा न्यू बुद्ध युवा क्लब भानुलाई ३–० गोलअन्तरले पराजित गर्दै नवयुवाले उपाधि हात पारेको हो ।

शान्तिदीप युवा क्लब शिशाघाटलाई २–१ गोलअन्तरले हराउँदै न्यु बुद्ध फाइनलमा पुगेको थियो भने गन्नी एफसी पोखरा कास्कीलाई २–० गोल अन्तरले पराजित गर्दै नवयुवाले फाइनलमा स्थान बनाएको थियो । विजेता नवयुवा क्लबले उपाधिसँगै रु दुई लाख दुई हजार दुई सय २२ तथा उपविजेता न्यु बुद्ध भानुले रु एक लाख एघार हजार एक सय ११ का साथै ट्रफी र मेडल प्राप्त गरेको छ । विजेता टोलीलाई कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले पुरस्कार प्रदान गरे ।


तीजको अवसरमा यही भदौ आठदेखि १४ गतेसम्म भएको प्रतियोगिताको फाइनल खेलका म्यान अफ दी म्याच नवयुवाका फोफोना घाेषित भए । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी न्यु बुद्ध भानुका सन्दीप राना, सर्वाधिक गोलकर्ता नवयुवाका सन्तोष गुरूङ र उत्कृष्ट गोलरक्षक नवयुवाकै शिव पिया भए । उनीहरूलाई जनही रु सात हजार पाँच सय प्रदान गरिएको खेल संयोजक राजेश मल्लले जानकारी दिए । प्रतियोगितामा ४२ टोली सहभागी थिए ।