पाँच वर्षमुनिका बच्चामा कान पाक्ने समस्या बढी



टीकापुर । टीकापुरका रमिला जोशीका दुई सन्तान छन् । उनका दुवै सन्तान साना हुँदा कान पाकेर हैरानी भयो । लामो उपचारपछि कान पाक्ने समस्या समाधान भयो ।

‘पहिलो बच्चा हुर्काउँदा पनि काम पाकेर हैरानी भयो, जतिपटक रुघाखोकी लाग्थ्यो, त्यतिपटक बच्चाको कान पाक्ने समस्या पनि हुन्थ्यो’, उनले भनिन्, ‘दोस्रो बच्चा हुर्काउँदा धेरै सचेत थिए । दोस्रो बच्चा पनि कान पाकेर दुःख पाएँ ।’ उनका बच्चाको कान पाक्ने समस्या लामो उपचारपछि निको भएको उनी बताउछिन् । ‘अहिले बच्चा ठूला भए, उनीहरूमा समस्या छैन’, उनी भन्छिन्, ‘अहिले पनि नुहाउँदा कानमा रुइ हालेर नुहाउने, नदी खोलामा ननुहाउने, रुघाखोकी लागेमा तुरुन्तै उपचारमा जानेजस्ता कार्य गर्छौँ ।’


टीकापुरकै सुधा विकको बच्चा अहिले एक वर्षको छ । उनको बच्चा छ महिनाको भएदेखि बच्चाको कान पाक्ने समस्या छ । बच्चालाई रुघा लागेको समयमा बच्चाको कान पाक्छ । उपचार गरे निको हुन्छ, फेरि पाक्ने समस्याले सताएको उनको भनाइ छ । “बच्चा बिरामी भएका बेला निकै दुःख हुन्छ, अझ कान पाकेका बेला बच्चा कान समातेर निकै रुन्छ’, उनले भनिन्, ‘सरसफाइ र स्याहारमा ध्यान दिँदादिँदै पनि बच्चालाई कान पाक्ने समस्या भयो ।’