निलम्बित प्रधानन्यायाधीश जबरासँगको बयान सकियो, सोधियो ४३ प्रश्न



काठमाडौँ । महाभियोग सिफारिस समितले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकेको छ । समितिले आइतबारसम्म ३५ वटा प्रश्न गरेको थियो । मंगलबार जबरालाई बाँकी रहेका ८ वटा प्रश्न सोधेको हो । यससँगै जबरासँग ४३ वटा प्रश्न सोधिएको छ।

उनीसँग समितिले भदौ १५, १६ र १९ मा बयान लिएको थियो । अब जबरासँग प्रतिप्रश्न सोध्न बाँकी रहेको समितिले जनाएको छ । प्रतिप्रश्नका लागि बुधबार वा बिहीबार बोलाउने तयारी रहेको समिति सदस्य रेखा शर्माले जानकारी दिइन् ।


बयानका क्रममा जबराले आफू निर्दोष रहेको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गठबन्धनका नेता तथा सांसद, सहकर्मी न्यायाधीश, नेपाल बार र सर्वोच्च बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूमाथि गम्भीर आरोप लगाएका छन् ।