नागरिकता विधेयक प्रमाणित नगरेमा राष्ट्रपतिले राजीनामा दिनुपर्छः प्रचण्ड



पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरेमा राजीनामा दिने वा अदालत जाने विकल्प रहेको बताएका छन् ।

शुक्रबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले संविधान अनुसार एक पटक फिर्ता गर्ने अधिकार संविधानले दिएको बताउदै प्रचण्डले अब फेरि दुवै सदनले पारित गरेपछि संविधान अनुसार प्रमाणित गर्ने विश्वास व्यक्त गरेका छन् ।


संविधानले व्यवस्था नै नगरेको हुनाले राष्ट्रपतिले प्रमाणित गर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले राजीनामा दिने वा अदालत जाने विकल्प रहेको बताएका छन् ।

उनले भने,‘राष्ट्रपतिज्यूलाई दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन्, त्यसकारण उहाँले प्रमाणीकरण गर्नुहुन्छ जस्तो नै लाग्छ मलाई । हुन त मैले केहीदिन अघि मैले राष्ट्रपति जीसँग भेटेर कुरा गर्दा उहाँ चाहिँ यो विषयलाई पोलिटिकल विषय बनाउने मुडमा भएकै देखेको थिएँ मैले।’

प्रचण्डले नेकपाको सरकार हुँदा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको नागरिकता विधेयकलाई राष्ट्रपतिले ल्याउँदा साथ हेर्दै नहेरी तत्काल प्रमाणित गरेको व्यवस्था नै अहिले ल्याइएको बताए ।

प्रचण्डले अंगीकृत नागरिकताको विषयमा माओवादीको अग्रसरतामा नै सात बर्षको प्रावधान राज्य व्यवस्था समितिमा बहुमतले पारित गरिएको भएपनि त्यति बेला सर्वसम्मत हुन नसकेको बताए । प्रचण्डले अहिले गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार नातोकिने भन्दै प्रधानमन्त्री बारे निर्णय चुनावपछि नै हुने बताए ।