नरैनापुरमा राहतको प्याकेज माग



बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा सबै वडाका किसानलाई सिँचाइको सुविधा हुने गरी डिप बोरिङ जडान र राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीको विशेष उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो । गत वर्षको बेमौसमी वर्षाका कारण भित्र्याउने अवस्थाको धानबालीमा ठूलो नोक्सानी बेहोर्नुपरेका नरैनापुरका किसानले लामो समयको खडेरीका कारण धानसमेत रोप्न पाएका छैनन् ।


खडेरीका कारण धान रोप्न र बर्सातमा लगाइने खेतीसमेत लगाउन नपाएकाले किसानले सुक्खा तथा खडेरी बेहोर्न नपर्ने गरी आफूले प्रदेश र सङ्घमा निरन्तर पहल गरेको लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण केसीले बताए । उनले नरैनापुर अत्यन्तै पिछडिएको क्षेत्र भएको र गत वर्षको बेमौसमी बर्सातले धान सखाप परेको भन्दै गर्दै यो वर्ष पनि लामो खडेरीका कारण धान रोप्न नपाएका किसानलाई राहत र सिँचाइका लागि डिप बोरिङको व्यवस्था गर्न पहल भएको उल्लेख गरे ।

जिल्लाको अन्न भण्डारका रुपमा आफ्नो परिचय बनाएको गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ । खडेरीका कारण वर्षे खेती लगाउन नसकिएको र लगाएको पनि खडेरीका कारण सुकेर गएकाले सङ्घ र प्रदेशले नरैनापुरका लागि विशेष प्याकेज घोषणा गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष शाहले बताए ।