दाउद इब्राहिमबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख रुपैयाँ इनाम दिइने



भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले फरार ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ दाउद इब्राहिम र उहाँका निकट सहयोगीबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख भारतीय रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

एनआईएले १८ अगस्ट २०२२ मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “संयुक्त राष्ट्रसङ्घ सुरक्षा प्रस्ताव १२६७ अन्तर्गत संयुक्त राष्ट्रसङ्घले ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ घोषित गरेको र भारतको गैर–कानुनी गतिविधि ऐन १९६७ को चौथो अनुसूचीअन्तर्गत सूचिकृत दाउद इब्राहिमले डी–कम्पनी नामको अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल चलाइरहेका छन् ।”


विज्ञप्तिमा भनिएको छ, ’इब्राहिम र उनका अन्य सहयोगीहरू विभिन्न आतङ्कवाद, हतियार तस्करी, लागुऔषध कारोबार, आपराधिक संगठन सञ्चालन, सम्पत्ति शुद्धिकरण, जाली भारतीय नोट (एफआईसीएन) को प्रचलन, अनधिकृत रूपमा कब्जा र आतङ्कवादी धन सङ्कलनका लागि प्रमुख सम्पत्तिहरू प्राप्त गर्ने जस्ता आपराधिक गतिविधिहरूमा संलग्न छन् र लश्कर–ए–तैएबा, जैश–ए–मोहम्मद, र अल कायदासहित अन्तर्राष्ट्रिय आतङ्कवादी संगठनसँग सक्रिय सहकार्यमा काम गरिरहेका छन् ।”

एनआईएले सूचना दिने व्यक्ति वा संस्थाको सुरक्षाको लागि सुनिब्चितता गर्दै उनीहरूको नाम सार्वजनिक नगरिने पनि बताएको छ ।