ढुक्क हुनुहोस्, आलमलाई उम्मेदवार बनाउँदैनौँ : महामन्त्री थापा 



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कारागारमा रहेका काँग्रेस नेता अफताव आलमलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने बताएका छन् ।

शुक्रबार  रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले कुनै ठाउँबाट आगामी निर्वाचनका लागि आलम सिफारिस भएपनि काँग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गरे ।


महामन्त्री थापाले आफूहरु पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुराहरु पार्टीबाट नहुने बताए । उनले संविधानले बर्जित गरेको काम पार्टीबाट नहुने दाबी गरे ।

‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई काँग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा राख्दा मैले यो निर्णय गरेको हुँ भन्न नसक्ने निर्णय आफूआवद्ध हुँदासम्म पार्टीबाट नहुने बताए  ।

उनले भने, ‘संविधानले, विधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा छाती ठोकेर मैले गरेको हो यो निर्णय, हामीले गरेको हो भनेर भन्न नसक्ने कुनैपनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन, यत्ति कुरा म तपाईंलाई आवश्वस्त पार्दछु ।’