जग्गा प्राप्तिमै अल्झियो मझगाउँ विमानस्थल निर्माणको काम



दोधारा चाँदनी । कञ्‍चनपुरको मझगाउँ विमानस्थलको काम जग्गा प्राप्ति हुन नसक्दा निर्माणको काम प्रभावित भएको छ। 

विमानस्थलको दक्षिणतर्फ रत्नबाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिन विमानस्थलले नपाउँदा निर्माणको काम स्थगित छ। अहिले विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ। उक्त क्षेत्रमा धावनमार्ग निर्माण भइरहेको छ। रत्नबाटिका र सेनाले भोगचलन गरिरहेको जमिनसहित जोड्दा विमानस्थलको लम्बाइ एक हजार पाँच सय २५ मिटर पुग्छ। 


उक्त जमिनको भोगाधिकार विमानस्थलका नाममा नहुँदा धावनमार्ग निर्माणको काम रोकिएको विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले बताए। ‘सेनाले भोगचलन गरेको जग्गा विमानस्थलका नाममा भोगचलनका लागि नआउँदा निर्माण कार्य प्रभावित बनेको छ,’ उनले भने, ‘जग्गा प्राप्त नहुँदासम्म निर्माण व्यवसायीले पनि काम गर्न चासो देखाएको छैन।’

उनले सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकारका लागि मन्त्रालयमा प्रक्रिया अघि बढेको बताए ‘तीन वटा मन्त्रालयसँग समन्वय गरेर निर्णय गर्नुपर्ने भएकाले ढिलाइ भइरहेको छ,’ उनले भने, ‘सेनाका मातहतमा रहेको जग्गा पनि विमानस्थललाई दिने सहमति यसअघि भएको थियो।’

उनका अनुसार राजपत्रमा उक्त जग्गा विमानस्थलका लागि छोडिएको उल्लेख भए पनि सेनाका नाममा लालपुर्जा छ। विमानस्थल पुनःनिर्माण सङ्घर्ष समितिका व्यवस्थापन संयोजक करन पालले विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्ने बताए। 

‘यहाँ विमानस्थलको आवश्यकता छ, यसले यहाँको पर्यटन विकासमा सहयोग पुग्दछ,’ उनले भने, ‘हामीले पटकपटक सरकारसँग विमानस्थल सञ्चालनका लागि दबाव दिइरहेका छौँ।’ मन्त्रीले विमानस्थल पुनःनिमार्णको काम शिलान्यास गरेको भए पनि कामले गति लिन नसकेको उनले बताए। 

कञ्चनपुरको महाकाली नदीमा महाकाली पक्की पुल निर्माण, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भइरहेकाले विमानस्थल आवश्यक रहेको राजधानीसँगको सहजताका लागि विमानस्थल आवश्यक भएको उनले बताए।