काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई निवासमै नजरबन्द गरिएकोमा आपत्ति जनाएको छ ।
आइतबार जबरालाई निवासमा पुगेर भेट गरेपछि आयोगले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश राणा सर्वोच्चमा बहाली गर्न जाने तयारी गर्दा सुरक्षाकर्मीहरुलाई बिनाकारण निवासबाटै बाहिर निस्कन नदिएको जानकारी प्राप्त भएको जनाएको छ ।
सरकारले जबराको सुरक्षामा तैनाथ सबै सुरक्षाकर्मीसमेत फिर्ता गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘जुनसुकै व्यक्तिको पनि संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व हुन आउँछ । यसप्रकारका अधिकारहरुमा कुनै पनि बहानामा अवरोध पुग्न हुँदैन भन्नेमा आयोग दृढ छ। अतः संविधान र कानूनमै टेकेर यस प्रकारको गतिरोधको अन्त्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ।’
जबरा आफूमाथि महाअभियोग लगाएको संसदको आयु समाप्त भएसँगै उनी आइतवार सर्वोच्च फर्किने तयारीमा थिए। तर उनी र उनको परिवारलाई निस्किन नदिएर सरकारले अघोषित नजरबन्द गरेको छ ।