चीनको सिचुआन सहरमा भूकम्प, कम्तिमा ४६ जनाको मृत्यु



चीनको दक्षिणपश्चिम क्षेत्रमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । सिचुआन प्रान्तमा १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो। जसका कारण त्यहाँको सञ्चारविच्छेद भएको र लगत्तै पहाडमा गएको पहिरोका कारण गम्भीर क्षति भएका विवरणहरू सार्वजनिक भएका छन् ।

गत साता सिचुआनको राजधानी चेङ्दुका करिब २१ लाख मानिसहरूलाई कोभिड नियमका कारण घरमै बस्न निर्देशन दिइएको थियो । भूकम्पको केन्द्रबिन्दु चेङ्दुबाट २२६ किलोमिटर दक्षिणपश्चिममा अवस्थित दुर्गम पहाडी क्षेत्र लुडिङ सहर रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जनाएको छ ।


सरकारी टेलिभिजनसीसीटीभीका अनुसार यान सहरमा १७ जनाको मृत्यु भएको र अर्को छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको छ । भूकम्पमा परी अन्य १६ जना बेपत्ता र ५० जना घाइते भएका छन् । भूकम्पका कारण चेङ्दु र छिमेकी मेगा–सिटी चोङ्किङमा भवनहरूमा क्षति पुगेको छ । त्यस्तै गार्जे र यान क्षेत्रका केही विद्युत् केन्द्रहरू पनि बन्द गरिएको सीसीटीभीले जनाएको छ ।

सरकारी सञ्चारमाध्यमहरूका अनुसार केन्द्रबिन्दु क्षेत्रमा पाँच सयभन्दा बढी उद्धारकर्मीहरू पठाइएको छ। यसअघि जुन महिनामा सिचुआनमा ६.१ म्याग्निट्यूडको भूकम्प गएको थियो।

सिचुआन भूकम्पको जोखिम रहेको क्षेत्र हो किनकि यो छिङहाई–तिब्बती पठारको पूर्वी सीमामा रहेको छ । पछिल्लो भूकम्पले सन् २००८ मा उत्तरपश्चिम सिचुआनको वेनचुआन काउन्टीमा गएको ८.० म्याग्निच्युडको भूकम्प सम्झायो जसमा परी ७० हजार मानिसको ज्यान गएको थियो ।