खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र तथा पुरानो सदरमुकाम खोटाङ बजारको सडक ढलानमा ठेकेदारको लापरबाही देखिएको छ ।
खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारको सडक ढलान तथा डिबिएसटी पिच (कालोपत्र)को काम १ नं प्रदेश सरकारको दुई करोड ६९ लाख २५ हजार सात सय ९७ को लागतमा धुलिखेल निर्माण सेवा कम्पनीले जिम्मा लिएको थियो । विसं २०२० सम्म जिल्ला प्रशासन तथा हाल इलाका प्रशासन कार्यालय रहेको खोटाङ बजारको सडक ढलानमा ठेकेदार कम्पनीबाट भइरहेको लापरबाहीका विषयमा स्थानीय सरकारदेखि प्रदेश र सङ्घीय सांसदसमेत बेखबर झैँ देखिएका छन् । खोटाङबजार प्रदेश सरकार, १ प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’को निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा सदस्य एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईको गृह वडा हो ।
ठेकेदारको लापरबाहीका कारण सडक ढलानका क्रममा गुणस्तरहीन गिटी र बालुवा प्रयोग गरिएको, मापदण्ड अनुसारको दूरीमा रडको जाली नराखिएको, ढलान गर्नुअघि सोलिङ राम्ररी नगरिएको लगायतका त्रुटी देखिएको स्थानीय बासिन्दाले जनाएका छन् । खोटाङबजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का धुलिखेल निर्माण सेवा कम्पनीले विसं २०७८ असार मसान्तमा सक्नेगरी विसं २०७७ असार–३० गते लिएको थियो । करिब सात सय मिटर आरसिसि ढलान र करिब छ यी मिटर डिबिएसटी कालोपत्र गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
सुरुमा खोटाङबजारमा डिबीएसटी कालोपत्र गर्नेगरी डिपिआर तयार पारिएको थियो । तर, डिबीएसटी गर्ने क्रममा रोलरको थर्कनले बजारका घरलाई असर गर्ने भन्दै डिजाइन परिवर्तन गरेर घर भएको क्षेत्रमा ढलान र घर नभएको ठाउँमा डिबिएसटी पिच (कालोपत्र) गर्नेगरी काम अघि बढाइएको हो । परिवर्तित डिजाइन अनुसार २ नम्बर धारादेखि इलाका प्रशासन कार्यालयको गेट र बजार पुछारसम्म ढलान तथा २ नम्बर धारादेखि गाउँपालिकाको कार्यालयसम्म डिबिएसटीको काम गर्नुपर्ने प्रदेश सरकारसँग गरिएको सम्झौतामा उल्लेख छ । आरसिसि ढलानको काम अन्तिम चरणमा पुगेपनि ठेकेदारको लापरबाहीले पिचको काम अझै सुरु नभएको वडा नं ७ खोटाङ बजारका वडाध्यक्ष एवं खोटेहाङ गाउँपालिकाका प्रवक्ता शिवप्रसाद फुँयालले जानकारी दिए ।
खोटाङ बजारको सडक ढलान आयोजनामा निर्माण कम्पनीले यसअघि थपिएको म्यादसमेत गुजारीसकेको निर्माणस्थलमा खटिएका सहरी विकास तथा भवन कार्यालय, ओखलढुङ्गाका इञ्जिनीयर धीरज साहले बताए । “सम्झौता म्याद नाघेको वर्षदिन वितिसक्दा बल्ल आयोजनाको करिब ७० प्रतिशत मात्र काम सकिएको देखिएको छ”, उनले भने, “गुणस्तरहीन काम भएको ठाउँमा ढलान फुटाएर पुनः काम गर्न लगाइएको छ । राम्रो नभए फुटाउने हो, गुणस्तरीय काम गराउने हो । बिग्रेछ भने उनीहरुले नै बेहोर्छ, सम्झौता गर्दा राखेको धरौटी जफत हुन्छ ।”
स्थानीयवासीका अनुसार निर्माण सुरु गर्दादेखि नै लापरबाही भएको खोटाङ बजारको सडक ढलानको काम अहिले ठप्प छ । महिना दिन अघिदेखि काम छाडेको ठेकेदार कम्पनीले ढलान गर्न विच्छ्याइएको ठाउँबाट फलामे रड तथा सिमेन्ट र बालुवासमेत उठाएर अन्यत्र लान थालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बजारको सडक ढलान आफूहरु निर्वाचित भएर आउनुभन्दा अगाडि गरिएका ठाउँमा समस्या देखिएको खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राईले जानकारी दिए ।
“हामी निर्वाचित भएर आएपछि गुणस्तर कायम गर्न १५ दिनसम्म रोक्यौँ”, उनले भने, “अहिले पानीझरिको बहाना बनाएर काम गरेका छैनन् ।
अब हुने काममा गुणस्तर कायम गराएर तोकिएकै समयमा सम्पन्न गराउँछौँ ।”सडक ढलानमा ठेकेदारले चरम ढिलासुस्ती गर्नुका साथै काम पनि गुणस्तरहीन गरेको विषयमा जनप्रतिनिधिसमेत मौन बसेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । ठेकेदार कम्पनीले सडक ढलानका लागि निर्माण सामग्री ल्याएर जथाभावी राखेकाले आवतजावतमा समेत समस्या भएको उनीहरुले गुनासो गरेका छन् ।
सडक ढलानको काम अलपत्र भएको विषयमा जानकारी लिन खोज्दा ठेकेदार कम्पनीका व्यक्तिसँग सम्पर्क हुन सकेको छैन ।अलपत्र अवस्थामा काम छाडेर हिँडेका ठेकेदारलाई दसैँ–तिहारपछि काममा फर्काउने गाउँपालिकाले जनाएको छ ।