क्यानसँग कानुनी उपचारका लागि सहयोग गर्न सन्दीपको आग्रह



काठमाडौँ । नाबालिकालाई जबरजस्तीकरणी गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने नेपाल क्रिकेट संघ(क्यान)को सम्पर्कमा आएका छन् ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिजमा रहेका सन्दीपलाई क्यानले सम्पर्क गरेको हो । क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार क्यानसँगको कुराकानीमा सन्दीपले कानुनी लडाईँका लागि सहयोग मागेका छन्। उनले क्यारेबियन प्रिमियर लिग सकिएपछि मात्रै आफू नेपाल फर्किने क्यानलाई जानकारी दिएका छन् ।


क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि सन्दीपविरुद्ध तत्काल कुनै एक्सन नलिने बताइसकेका छन् । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा सन्दीपले बालिकालाई भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ । प्रहरी सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारीमा छ ।