केही वर्षदेखि म प्रधानमन्त्रीको ‘रेस’मै छैनः प्रचण्ड



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नभएको भएको बताएका छन् । सोमबार बिहान चितवनको भरतपुरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले केही साथीहरुले आफूलाई प्रधानमन्त्री बनाउन खोजेपनि आफू दौडमा नरहेको बताएका हुन् ।

उनले भने,‘केही साथीहरुले मलाई फेरि प्रधानमन्त्री भन्न खोज्नु भएको छ। म प्रधानमन्त्रीको रेसमा छैन। जनताको आर्थिक विकास र समृद्धि यो मेरो पहिलो प्राथमिकता हो।’ उनले २०७४ को चुनावपछि आफूलाई पाँचैचोटी प्रधानमन्त्री हुने अफर आएको पनि बताए। राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकासको वातावरण बनाउने र त्यसको निम्ति समर्पित हुने आफ्नो प्रतिबद्धता भएकाले प्रधानमन्त्री पदलाई मुख्य रूपमा नहेरेको बताए ।


अध्यक्ष प्रचण्डले चितवनका जनता धेरै सचेत भएको भन्दै उनीहरुको फैसला जहिले पनि लोकतान्त्रिक, अग्रगामीका साथै विकास र समृद्धिको पक्षमा रहेको उल्लेख गरे । उनले शान्ति सम्झौतमा हस्ताक्षर गर्दैगर्दा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष आफूले जनताको फैसला मान्य छ भनेर संविधानसभामा हस्ताक्षर गरेको स्मरण गरे ।