केन्यासँगको एकदिवसीय शृङ्खलामा नेपालको ’क्लिन स्वीप’



काठमाडौँ । केन्यासँगको एकदिवसीय अभ्यास खेलको शृङ्खला नेपालले ’क्लिन स्वीप’ गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको हो । केन्याले दिएको दुई सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा चार विकेट गुमाएर भेटायो ।

नेपालका लागि अर्जुन साउदले ५८, आसिफ शेखले ५६, बसिर अहमदले ५२, रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेलले दुई तथा शेम एनगोचे र याश तालातीले एक/एक विकेट लिए । यसअघि नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ५५ रन बनायो ।


केन्याका लागि कोलिन्स अबुयाले ८४, लुकास एनडानडासनले नटआउट ५९, सुखदिप सिंहले ३७ र इमानुएल बुन्डीले २३ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले दुई÷दुई विकेट लिए ।

यस्तै वसिर अहमद र शाहब आलमले एक÷एक विकेट लिए । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई सात विकेटले हराउँदा दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो । यसअघि भएको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि नेपालले तीन–दुईले जितेको थियो ।