कृष्णनगर भन्सारबाट पाँच अर्ब राजस्व असुली



कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले पाँच अर्ब ४३ करोड ४४ लाख ३७ हजार राजस्व असुली गरेको छ । 

जिल्लाको सबैभन्दा ठूलो भन्सार नाकाको रुपमा रहेको कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । भन्सारले गत वर्षभन्दा  १६ करोड ३८ लाख ८१ हजार बढी राजस्व असुली गरेको छ । निर्यात ६५ प्रतिशतले वृद्धि भएको उनले बताए । निर्यात हालसम्मकै उच्च हो । 


आव २०७८/७९ मा प्लाइउड, टर्पेन्टाइन तेल, सुगन्ध तेल, तोरीको तेल, सुगन्ध कोकिला मार्क, काठका भाँडा, काठको कचौरा, टोकरी, हड्डी र सिङ, रोजिन र काठले बनेका सामग्रीको निर्यात बढेको पौडेलले जानकारी दिए। गत आवमा १४ करोड ८० लाख ४५ हजारको प्लाइउड निर्यात भएको थियो । यसैगरी पाँच करोड ६२ लाखको टर्पेन्टाइन तेल तथा तीन करोड ६६ लाखको सुगन्ध कोकिला तेल भारततर्फ निर्यात गरिएको प्रमुख पौडेलले बताए  ।

भन्सार नाकाबाट सबैभन्दा धेरै निर्यात हुनेमा प्लाइउड र रोजिन छ । गत आवमा २६ करोड २३ लाख ५४ हजारको रोजिन निर्यात भएको थियो । यो अघिल्लो आवभन्दा आठ करोड ५३ लाख ५९ हजार बढी हो । कार्यालयबाट गत आवमा २६ अर्ब ८१ करोड ३८ लाख ९४ हजारको सामग्री आयात भएको थियो । आव २०७७-७८ मा २४ अर्ब ४९ करोड नौ लाख नौ हजारको आयात भएको थियो । सबैभन्दा धेरै आयात हुनेमा चामल र फलफूल छन् ।