कुमाल समुदायको पेशा जोगाउँदै नगरपालिका



कालीकोट । जिल्लाको रास्कोट नगरपालिकाले कुमाल समुदायको पेशा जोगाउन तीनमहिने तालिमको आयोजना गरेको छ । कुमाल समुदायको पुर्ख्यौली पेशाका रुपमा रहेको माटाको भाँडा बनाउनका लागि तालिमको आयोजना गरिएको हो । 

नगरपालिकाले कुमाल समुदायको पेशाको रक्षाका लागि तीनमहिने तालिम सुरु गरेको नगर प्रमुख धर्मराज शाहीले बताए । पछिल्लो समय युवापुस्ताले आफ्नो परम्परागत पेशालाई बिर्संदै गएकाले युवापुस्तालाई पेशाप्रतिको आत्म विश्वास दिलाउन नगरपालिकाले तालिम आयोजना गरेको उनको भनाइ छ । 


नगरपालिकाले कुमाल समुदायले माटोबाट निर्माण गरेका भाँडाको बजारीकरण गर्ने पनि जिम्मा लिने नगरपालिकाले जनाएको छ । कुमालले माटाका हुण्डी, घैँटा, पाला, भुट्को, आरीलगायतका माटाका बस्तु बनाउने गर्दछन् ।

कुमाल समुदायको तीन सय १६ घरधुरी रहेको कुमालवाडामा अहिले एकै जनाले पनि यो पेशा गरेका छैनन् । करिब एकदशकदेखि यो समुदाय यो पेशाबाट विस्थापित बनेपछि नगरपालिकाले उनीहरुको पेशा संरक्षणका लागि विशेष पहल थालेको हो । 

स्थानीय मनसिङ्गे कुमालका अनुसार माटो, दाउराको अभाव र युवापुस्ता पेशाप्रति आकर्षित हुन नसक्दा यो पेशा नै लोप हुने अवस्थामा आएको छ । पहिले बस्तीमा माटाका भाँडा बनाउने चहलपहल हुने गरे पनि अहिले भाँडा बनाउन छाडेका छन् । पछिल्ला वर्ष माटाका भाँडाप्रति उपभोक्ताको रुचि घट्दो र उत्पादन गर्ने कुमाल समुदाय यो पेशालाई अप्ठ्यारो पेशाका रुपमा लिन थालेपछि संकटमा परेको हो ।