कारागार विधेयक पारित



काठमाडाैँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक, २०७९ पारित गरेको छ । सभाको आजको बैठकले गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेकाे विधान व्यवस्थापन समितिको प्रतिवेदनसहितको कारागार विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

विधेयकमाथिको छलफलमा सांसदहरु डा विमला राई पौड्याल र भूवनबहादुर सुनारले कारागार व्यवस्थापन सुधारका लागि संरचना निर्माण र जनशक्तिको व्यवस्थापन गर्न ध्यानाकर्षण गराए ।


छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाणले कारागारको भौतिक संरचना र व्यवस्थापनलाई सुधार गर्नेगरी विधेयक ल्याइएको बताए । उहाँले कारागारमा धेरै खालका कैदीबन्दी रहेकाले कारागारलाई सुधारगृह बनाउने र उनीहरुलाई उत्पादनशील बनाउँदै मानवअधिकार र समाजप्रति बढी उत्तरदायी बनाउने विधेयकले लक्ष्य लिएको बताए ।

गृहमन्त्री खाणले कारागारलाई सुधारगृहका रुपमा विकास गरी भौतिक संरचनालाई पनि सुधार गरेर बन्दीको स्वास्थ्य र सुरक्षाको राज्यले गम्भीर तरिकाको सुरक्षा गर्नुपर्छ भन्ने सकारात्मक सुझावलाई समेटेर विधेयक अघि बढाइने विश्वास व्यक्त गरे । आगामी वर्षबाट कारागार व्यवस्थापनमा राज्यले लगानी वृद्धि गर्ने उनले बताए ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले प्रस्तुत गर्नुभएको राष्ट्रियसभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनःपारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।

बैठकले कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले प्रस्तुत गरेकाे प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

राष्ट्रियसभाको अर्को बैठक भदौ २६ गते दिउँसो १ बजे बस्नेछ ।