काठमाडौंको गोठाटारमा गोली प्रहारबाट घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु



काठमाडौँ । काठमाडौँको गोठाटारस्थित कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।

गोली प्रहारबाट घाइते भएका सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय दर्जीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले गोली लागेर घाइते भएका दर्जीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

गोली प्रहार गर्ने व्यक्ति फरार छन् । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ । सोमबार साँझ भएको घटनामा ४ राउण्ड गोली चलेको बताइएको छ ।

दर्जीलाई टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गोली लागेको थियो ।  प्रहरीले गोली प्रहारमा संलग्नको खोजी कार्य तीव्र बनाएको छ ।