रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले आफ्नो ऊर्जा निर्यातलाई ‘हतियार’का रूपमा प्रयोग गरिरहेको भन्ने आरोपको बुधबार खण्डन गरेका छन् ।
जाडो याम नजिकिँदै गर्दा युरोपमा ऊर्जा मूल्य सङ्कट उत्पन्न हुने डरलाई थप प्रमाणित गर्दै रूसले मर्मतका लागि नोर्ड स्ट्रिम पाइपलाइन केही दिनका लागि बन्द गरिएको जनाएको छ ।
रूसी आपूर्तिमा अत्यधिक निर्भर रहेको युरोपले युक्रेनमा रूसको सैन्य अभियानलाई लिएर लगाइएको प्रतिबन्धको जवाफमा मस्कोले ऊर्जालाई आपूर्तिलाई ब्ल्याकमेलिङको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ ।
पुटिनले प्रशान्त महासागरीय बन्दरगाह शहर भ्लादिभोस्तोकमा आयोजित इस्टर्न इकोनोमिक फोरममा भने, “रूसले ऊर्जालाई हतियारको रुपमा प्रयोग गर्छ भन्ने उनीहरूको भनाइ छ । यो निकै गलत छ । आयातकर्ताको अनुरोध र आवश्यकताअनुसार आफ्नो क्षमतामा इन्धन आपूर्ति गर्छौं ।”
रूसी ग्याँस कम्पनी गजप्रोमले शुक्रबार एक टर्बाइनमा तेल चुहावट भेटिएपछि नोर्ड स्ट्रिम मर्मतका लागि बन्द गर्ने जनाएको छ । क्रेमलिनको प्रतिबन्धले रूसी ग्याँस पूर्वाधारको उचित मर्मतसम्भारमा बाधा पुर्याएकोर विशेष गरी क्यानाडामा मर्मत भइरहेको सिमेन्स टर्बाइनको फिर्तीमा अवरोध पुर्याएको बताएको छ ।
भ्लादिभोस्तोक फोरममा पुटिनले भने, “हामीलाई टर्बाइन दिनुहोस्, हामी भोलि नोर्ड स्ट्रिम घुमाउनेछौं। हामी भोलि यो गर्न तयार छौं, केवल एक बटन थिच्न आवश्यक छ । तर हामीले नै प्रतिबन्ध लगाएका होइनौं ।”