अमेरिकाको फ्लोरिडामा शक्तिशाली तुफानसहितको समुद्री इयान आँधीका कारण जनजीवन कष्टकर बनेको छ । आँधीका कारण अमेरिकाको दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी पनि आएको अधिकारीहरुले जानकारी दिएका छन् । आँधी र बाढीले विद्युत, सञ्चार, खानेपानी, यातायात लगायतका आधारभूत सेवाहरु अवरुद्ध भएकाले जनजीवन प्रभावित भएको हो । यसबाट २५ लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ ।
अहिलेसम्मका ठूला आँधीमध्येमा पर्ने यस इयान आँधी र बाढीका कारण सयौँ घर डुबानमा परेका छन् भने धेरै भौतिक संरचना भत्किएका छन् । आँधी आइरहेका बेला आप्रवासीलाई लिएर क्युबाबाट फ्लोरिडातर्फ आउँदै गरेको एउटा डुङ्गा डुब्दा २३ जना हराइरहेको सुरक्षाकर्मीले बताएका छन् । झण्डै २४१ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले गराएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको पनि अधिकारीहरूले जनाएका छन् । उनीहरूले थप क्षति हुनसक्ने खतरा रहेकाले सतर्क अवस्थामा रहन सबैलाई अनुरोध पनि गरेका छन् ।
आँधीका कारण फोर्ट मायर्स सहरसहित ली काउन्टीमा कफ्र्यू घोषणा गरिएको छ । बुधवार बेलुका छ बजेबाट सुरु भएको कफ्र्यु अर्को सूचना प्रकाशित नभएसम्म कायम रहने काउन्टीले जनाएको छ । आम मानिस त्रास र सङ्कटमै रहेका बेला विभिन्न ठाउँमा लुटपाट र हिंसाका घटना पनि भएका छन् । त्यसलाई नियन्त्रण गर्न सक्दो प्रयास गरिएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।