सभामुखले सूचना टाँस गरेर नागरिकता विधेयक पारित भएको घोषणा गर्नुपर्छ : तमलोपा



काठमाडौँ । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष वृषेशचन्द्र लालले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक रहेकाे बताएका छन् ।

तराई मधेश लोकतन्त्रिक पार्टीले बुधबार विज्ञप्ति जारी गर्दै अब प्रतिनिधिसभाको सभामुखले सूचना टाँसमार्फत नागरिकता विधेयक पारित भएको घोषणा गर्नुपर्ने बताएकाे छ ।


विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा ११३ को (४) ले राष्ट्रपतिलाई १५ दिनभित्र पुनः पारित भएको विधेयक प्रमाणीकरण गर्नै पर्ने व्यवस्था गरेको छ । सो नगरिए स्वतः प्रमाणित हुने यस धाराको मनसाय हो । यसअनुरुप नेपाल नागरिकता ऐन संशोधन विधेयक बनेको स्पष्ट रहेको हुँदा सो को घोषणा प्रतिनिधिसभाको सभामुखबाट सूचना टाँस गरी गरिनुपर्ने र नेपाल सरकारले त्यसको संपुष्टि गर्नुपर्ने आग्रह गर्दछौं ।’

संवैधानिक र श्रृगांरिक राष्ट्रपतिले आफूलाई राजतन्त्र जसरी सबै शक्तिको श्रोत देखाउन कोशिस गरेको बताउँदै उनले राष्ट्रपछि भण्डारीले वीरेन्द्र शाहको बाटो पछ्याएको टिप्पणी समेत गरेका छन् ।  संविधानको घेरा र आफ्नै देशको जनताविरुद्ध षड्यन्त्र गर्ने व्यक्ति पदमा बसिरहन योग्न नहुने भन्दै उनले राष्ट्रपति भण्डारीको राजीनामा समेत माग गरेका छन् ।