सर्वोच्चको आदेशप्रति असन्तुष्टि जनाउँदै मेयर बालेनले भने- ‘नक्सा पास गर्ने अधिकार पनि सर्वोच्चलाई दिऔं’



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार राति सामाजिक संजालमार्फत मेयर साहले सर्वोच्चको आदेशप्रति असन्तुष्टि जनाउँदै सर्वोच्चलाई नक्सा पास गर्ने अधिकार दिन आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’


महानगरपालिकाले सोमबार २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन लिखित निर्देशन दिएको थियो । महानगरको उक्त निर्देशनविरुद्ध नर्भिक अस्पतालले सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो।

बुधबार उक्त रिटमा सुनुवाइ गर्दै अर्को सुनुवाइ नभएसम्मका लागि नर्भिक अस्पतालको संरचना हटाउने कुनै पनि काम नगर्न सर्वोच्चको अन्तरकालीन आदेशमा भनिएको छ । मंगलबार नर्भिकले दायर गरेको रिटमा बुधबार पहिलो सुनुवाइ गर्दै तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उक्त संरचना हटाउनु पर्नाको कारण पेस गर्नसमेत आदेश दिएको छ।