विकासका कामलाई निरन्तरता दिने एमालेको योजना



काठमाडाैँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनताका मूच्र्छित सपनालाई ब्युँझाउन र पूर्वाधार विकासको थालनीलाई निरन्तरता दिन आगामी निर्वाचनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको बताएका छन् ।

एमालेको केन्द्रीय प्रचार विभागले आज आयोजना गरेको पत्रकारसँगको अन्तरसंवादमा महासचिव पोखरेलले विगतमा ओली प्रधानमन्त्री हुँदा जनतामा आशा जगाउने गरी समृद्धिका लागि काम गरेको बताए ।


एमालेको यही भदौ १० र ११ गते सम्पन्न केन्द्रीय कमिटीको चोथौ बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जाने निर्णय गरेको थियो ।

महासचिव पोखरेलले एमालेका हरेक पार्टी सदस्यले दुई–दुई मत पार्टीका लागि बढाउने अभियान सञ्चालन गर्ने योजना पनि सुनाए ।