वाइसीएललाई निर्वाचनमा सक्रिय भएर लाग्न प्रचण्डको निर्देशन



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका भातृ संगठनहरुलाई सक्रिय हुन निर्देशन दिएका छन् ।

शुक्रबार वाइसीएलको दोस्रो राष्ट्रिय भेलाको काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पहिलो संविधानसभा निर्वाचनमा जसरी सक्रिय भएर लाग्न निर्देशन दिएका हुन् ।


उनले पहिलाको अनुभव जस्तो अहिले पार्टीमा नभएको बताए । उनले सशस्त्र द्वन्द्वका बेलामा मर्नका लागि प्रतिस्पर्धा हुने र नेतृत्वलाई अग्रमोर्चामा जानका लागि युवाहरुले घेर्ने गरेको बताए ।

उनले भने, ‘अग्रमोर्चामा जानका लागि प्रतिस्पर्धा हुन्थ्यो। मैले मर्न जान पनि किन नपाउने भनेर प्रतिस्पर्धा हुन्थ्यो। नेतृत्वलाई घेरा हाल्ने र दबाब दिने हुन्थ्यो। तर, आजभोलि त्यस्तो छैन। अहिले यो पद किन नपाउने भने प्रतिस्पर्धा हुन्छ ।’

पहिलो संविधानसभा निर्वाचनमा वाइसिएलले खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष प्रचण्डले अहिले त्यस्तै भूमिका खेल्नुपर्ने बताए ।

उनले भने, ‘ जनआन्दोलन र जनयुद्धको बलमा जुन शक्ति प्राप्त भयो । पहिलो संविधानसभा निर्वाचनलाई सफल बनाउने र क्रान्तिकारी शक्तिलाई देशलाई प्रमुख शक्तिको रूपमा स्थापित गर्ने काममा पनि वाईसीएलको भूमिका निकै महत्त्वपूर्ण करिब–करिब निर्णायक भयो । पछिल्लो समयमा संविधानको सकारात्मक विषयहरु मेटिने त होइन, निरंकुशतातर्फ धकेलिने त होइन भन्ने वाईसीएल नेपाल र तपाईं युवाहरूले भूमिका कसरी निर्णायक हुनुपर्छ । चाहे सडकमा होस् वा चुनावमा होस् तपाईंहरूको भूमिका निर्णायक हुनुपर्छ।’

प्रचण्डले देशभरका वामपन्थी दलहरुलाई एकतामा ल्याउन प्रयास भइरहेको बताए । अब सम्भावना र चुनौति दुवै रहेको भन्दै उनले विश्वमा नै क्रान्तिमा चुनौति देखिएको बताए। विज्ञान र प्रविधिसँग पनि धेरै नै विकास भएको र त्यसको प्रयोगमा व्यापकता ल्याउनु पर्ने उनको भनाई थियो ।