रुसद्वारा युरोपमा ग्यास आपूर्ति बन्द



रुसले मुख्य पाइपलाइनबाट युरोपमा हुँदै आएको ग्यास आपूर्ति रोकेको छ । रुसी सरकारको स्वामित्वमा रहेको ऊर्जा कम्पनी गाजप्रोमले मर्मत/सम्भारका लागि भन्दै नर्ड स्ट्रिम १ पाइपलाइन मार्फत हुने आपूर्ति तीन दिनका लागि रोकेको रोयटर्सले जनाएको छ ।

नर्ड स्ट्रिम पाइप लाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर–पूर्वी जर्मनीसम्म बाल्टिक सागरमुनि १२ सय किलोमिटर फैलिएको छ । सन् २०११ मा खुलेको यो पाइपलाइनमा रुसबाट जर्मनीमा दैनिक एक सय ७० मिलियन क्युबिक मिटर ग्यास आपूर्ति हुन्छ ।


रुसले पाइपलाइनमा प्राविधिक समस्या आएको भन्दै अहिले २० प्रतिशत क्षमतामा सञ्चालन गरिरहेको छ । पश्चिमा देशले युक्रेनमाथिको आक्रमणपछि आफूमाथि प्रतिबन्ध लगाउने देशहरूलाई सजाय दिन रुसले ग्यास आपूर्ति रोकेको आरोप लगाएका छन् ।

तर रुसले भने आरोप अस्वीकार गर्दै प्राविधिक मर्मतका कारण आपूर्ति रोकेको प्रतिक्रिया दिएको छ । तीन दिनका लागि मुख्य पाइपलाइन मार्फत आपूर्ति रोक्नु ग्यासको मूल्य बढाउन खोज्नु रहेको भन्दै युरोपेली देशले चिन्ता व्यक्त गरेका रोयटर्सले जनाएको छ ।