रुकुममा उत्पादित लसुनले पाएन मूल्य



रुकुम (पूर्व)। लसुनको पकेट क्षेत्र रुकुम(पूर्व) को भूमे गाउँपालिका–९ स्थित चुनवाङ्मा उत्पादित लसुनले उचित मूल्य नपाएको त्यहाँका किसानको गुनासो छ ।

अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो ५० देखि ६० रुपैयाँ पर्छ । चुनवाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो ५० मा लसुन बिक्री गर्दा खर्च पनि नउठ्ने भएकाले प्रतिकिलो १०० रुपैयाँका दरले लसुन बिक्री गर्न चाहन्छन् ।


एक किलोको १०० रुपैयाँमा कसैले पनि लसुन खरिद नगरेकाले अहिले लसुन घरघरमै थुप्रिएको चुनवाङका लसुन उत्पादक किसान गञ्जु खड्काले बताए ।

अहिले आफूसँग मात्रै १० क्विन्टलको हारहारीमा लसुन भएको उनको भनाइ थियो । गत वर्ष १८ क्विन्टल लसुन उत्पादन गरेका खड्काले अहिले भने उत्पादन घटेको बताए । यस वर्ष उचित मूल्य नपाएकै कारण अलिकति पनि लसुन बिक्री नभएको किसान खड्काले बताए ।

उनकाअनुसार अहिले चुनवाङका प्रत्येक घरमा तीन देखि १० क्विन्टलको हारहारीमा लसुन छ । चुनवाङकै पूर्ववडाध्यक्ष प्रवेश पुनले बजारको मूल्यमा दिने किसानको लसुन बिक्री भइसकेको तर बजार मूल्यभन्दा बाहिरको लसुन बिक्री हुन नसकेको बताए ।

बजारमा चलेको मूल्यमा दिने हो भने गाउँभरिको सबै लसुन सङ्कलन गरिदिने तर बजार मूल्यभन्दा महँगोमा लसुन सङ्कलन गर्न नसकिने उनको भनाइ थियो ।

यसवर्ष चुनवाङमा ४३२ दशमलब ३५ मेट्रिकटन लसुन उत्पादन भएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए । उनकाअनुसार यो उत्पादन गत वर्षको तुलनमा १२ दशमलव १३ प्रतिशतले बढेको हो । चुनवाङको ७२ हेक्टर क्षेत्रफल जमिनमा लसुन खेती हुँदै आएको छ ।