काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अविरल वर्षाका कारण क्षति बेहोरेका नागरिकलाई राहत उपलब्ध गराउन तथा उनीहरुको उद्धार गर्न आग्रह गरेका छन् ।
प्रवक्ता महतले बुधवार एक विज्ञप्ति जारी गरी अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट काठमाडौँ, नुवाकोट, रसुवालगायतका जिल्लामा ठूलो क्षति पु¥याएको भन्दै राहत र उद्धारमा ध्यान दिन सरकारलाई आग्रह गरेका हुन् । “गए राति परेको अविरल वर्षाका कारण काठमाडौँ, नुवाकोटका विभिन्न क्षेत्र र रसुवामा समेत ठूलो क्षति पुगेको छ, बाढीपहिरोले पु¥याएको क्षतिको उद्धार र राहत कार्यमा लाग्न म सबैलाई हार्दिक अनुरोध गर्दछु”, उनले भने ।
जोखिमयुक्त क्षेत्रमा रहेका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । प्रवक्ता डा महतले प्राकृतिक विपद्को घडीमा मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्धार र राहतमा सरिक हुन सबैलाई अनुरोधसमेत गरेका छन् । सरकारका विभिन्न निकायलाई बाढीपहिरोले पु¥याएको सडक, पुल, खानेपानी आयोजना, सिँचाइ आयोजनालगायतका संरचनाको अनुगमन मूल्याङ्कन गरेर चाँडो मर्मतसम्भार र पुनःनिर्माण गर्न आग्रह गरेका छन् ।