राजनीतिमा चुनावमा हार्न सक्छौँ तर कुनै पनि आन्दोलनमा हार्नुहुँदैन : अध्यक्ष बिजुक्छें



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले चुनावमा हारे पनि कुनै पनि आन्दोलनमा हार्न नहुने बताएका छन् । पार्टीको भक्तपुर जिल्ला समितिको पूर्ण बैठकमा उनले चुनाव भनेको हारजितको खेल भएकाले त्यसमा हारे पनि जनताको पक्षमा हुने कुनै पनि आन्दोलन हार्न नहुनेमा जोड दिए ।

उनले मुलुकको परिस्थितिले नयाँनयाँ आन्दोलनको खाँचो भएको बताए । उनले भने, “मुलुकको अहिलेको अवस्थामा नयाँनयाँ आन्दोलन गर्नुपर्ने स्थिति बनेको छ । राजनीतिमा चुनावमा हार्न सक्छौँ तर कुनै पनि आन्दोलनमा हार्नुहुँदैन ।”


बैठकमा उनले कार्यकर्तामा आवश्यक गुणबारे स्पष्ट पार्दै प्रशिक्षण दिएका थिए । राजनीतिलाई फाइदा र बेफाइदामा केन्द्रित गर्दा मुलुक आजको अवस्थामा पुगेको विश्लेषण गर्दै उनले भने, “फाइदा–बेफाइदामा केन्द्रीत हुने कार्यकर्तामा जुझारूपन हुँदैन । वैचारिकरूपले ठीक कार्यकर्ताहरूले पार्टीभित्र होस् या समाजमा सङ्घर्ष गर्छन् ।”

वर्गीय तथा पेशागत सङ्गठनका इञ्चार्जको उपस्थिति रहेको बैठकमा बिजुक्छेंले आत्म समीक्षा तथा आत्मालोचना साङ्गठनिक जीवनको महत्वपूर्ण गुण रहेकोमा जोड दिए । “कुनै पनि कार्यकर्ता पार्टीप्रति इमानदार छ÷छैन गतिविधिबाट थाहा हुुन्छ, आफ्नो र परिवारको फाइदाको निम्ति होइन जनताको सेवामा कति समर्पित भयो भन्ने कुराले पार्टी कार्यकर्ताको मूल्याङ्कन गर्नु आवश्यक छ”, उनले भने ।