महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबरासँग १५ भदौमा बयान लिने



काठमाडौँ । संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सोधपुछका लागि बोलाउने भएको छ ।

बुधबार बसेको समितिको बैठकले प्रधानन्यायाधीश जबरालाई सोधपुछका लागि बोलाउने निर्णय गरेको हो । महाभियोगका विषयमा आफ्ना धारणा राख्न जबरालाई भदौ १५ गते बोलाउने निर्णय भएको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए ।


समितिले भदौ १८ वा १९ गते प्रतिनिधिसभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको पनि विष्टले बताए । गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए ।

संसदले प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगमाथि छानबिन गर्न महाभियोग सिफारिस समिति गठन गरेको थियो। समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन्। समितिमा जेष्ठ सदस्य रामबहादुर विष्ट रहेका छन् ।