भारतबाट फेरि घटेर आयो इन्धनको मूल्य, नेपालमा कति घट्ला ?



काठमाडौँ । भारतबाट फेरि पनि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ । अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएपनि आयल निगमले यहाँ मूल्य घटाएको छैन ।

मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ । योसँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा गएको छ । अब नेपालमा मूल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ हाराहारी नाफा रहने भएको छ ।


अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको मूल्य घटेर आएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ । यो मूल्य अझै घट्ने अनुमान छ ।