भारत र बेलाइतबीच स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौं चरणको वार्ता



भारत र बेलाइतले गत महिना भारत-बेलाइत स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौं चरणको वार्ता सम्पन्न गरेको छ । वाणिज्य र उद्योग मन्त्रालयले बिहीबार सो बारे जानकारी दिंदै हाइब्रिड शैलीमा प्राविधिक वार्ताहरू सम्पन्न गरेको बताएको छ। भारतको नयाँ दिल्लीमा केही वार्ताकारहरू प्रत्यक्ष र अधिकांश वार्ताकारहरू भर्चुअल रूपमा वार्तामा सहभागी भएका थिए । यस चरणको वार्ताका लागि दुवै पक्षबाट जम्मा ८५ सत्रमा विभिन्न १५ क्षेत्रमा छलफल भएको थियो।

भारतीय र बेलाइती अधिकारीहरूले सन् २०२२ अक्टोबरको अन्त्यसम्ममा व्यापक र सन्तुलित स्वतन्त्र व्यापार सम्झौतालाई निष्कर्षमा पुर्याधउने लक्ष्य तय गरेका छन् । भारत र बेलाइतले यस वर्ष जनवरीमा स्वतन्त्र व्यापार सम्झौताका निम्ति वार्ता शुरु गरेका थिए। दुवै देशले द्वीपक्षीय व्यवसायहरूलाई फाइदा पुग्ने गरी सम्झौता गर्न खोजिरहेका छन् । गत महिना वाणिज्य सचिव बीभीआर सुब्रह्मण्यमले भारत र बेलाइत बीचको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) वार्ता अगस्टको अन्त्यमा पूरा हुने सम्भावना रहेको बताएका थिए ।


बेलाइतसँग दुईवटा एमओयु र फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै सुब्रह्मण्यमले भारत-बेलाइत एफटीए वार्ता अगस्ट ३१ सम्ममा टुङ्गिने र दुवै पक्षको आन्तरिक स्वीकृतिपछि सम्झौतामा हस्ताक्षर गर्न तयार हुने बताएका थिए । प्रस्तावित एफटीएमा बेलाइतमा सरकार परिवर्तनको प्रभावको बारेमा सुब्रह्मण्यमले बेलायतमा सत्तामा जुनसुकै दल आए पनि भारतसँगको एफटीए परिवर्तन नहुने बताएका छन् ।