बेपत्ता र सत्य निरूपण आयोग विधेयक ‘फास्ट ट्रयाक’बाट पारित गरे परिस्थिति गिजोलिन सक्छ : प्रदीप ज्ञवाली



काठमाडौँ । नेकपा एमालेले वेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पारित गर्ने प्रकृया विश्वसनीय बनाउनुपर्ने बताएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले फास्ट ट्रयाकबाट विधेयक पारित गरिए परिस्थिति गिजोलिने बताएका हुन् । ज्ञवालीले विधेयमाथि गम्भीरतापूर्वक छलफल गर्न जरुरी रहेको बताए ।


उनले भने, ‘विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १६ वर्ष भयो । विधेयक पारित गर्ने प्रकृया विश्वसनीय भएन भने यो विषय झन् गिजोलिनेछ । सरकारमा द्वन्द्वरत पक्षहरु हुनुहुन्छ । संवेदनशिल अझ उहाँहरु हुनुपर्छ । यसका स्टेक होल्डर पीडित त बाहिर छन् । पीडित र नेपाल पक्ष राष्ट्र भएका कमिटमेन्टलाई ध्यान दिनुपर्छ ।’

उनले कानुनमन्त्री विगतमा पीडितमैत्री कानुनको कुरा गरेर हिँडेको भन्दै अहिले अर्को भूमिकामा देखिनु राम्रो नभएको बताए ।

उनले भने, ’विधेयकमा माननीय मन्त्रीज्यूले गम्भीर मानव अधिकार उल्लंघन र मानव अधिकार उल्लंघन दुईवटा क्याटोगोरीमा बाँड्नु भएको छ । यो कति भ्यालीड हुन्छ । गम्भीरतापूर्वक छलफल गर्न जरुरी छ । माननीय मन्त्रीज्यू मन्त्री हुनुभन्दा अगाडि बहस गर्नुहुन्थ्यो । पीडितमैत्री गोविन्द शर्मा अहिले यो कानुन टुंग्याउन खडा भएको मन्त्री दुईवटा फरक पात्र नबनोस् भन्न चाहन्छु । ’