काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सँगै मिलेर बनाएको योजनामा अगाडि बढाउन आग्रह गरेकी छिन् ।
शुक्रबार सामाजिक संजालमार्फत झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर साहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूची प्रस्तुत गरेकी छिन् ।
उनले भनेकी छन्, ‘यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने । मैले बागमती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाएइसकेको थिएँ, निर्वाचन आएकोले नगरौं भन्ने दवाव आयो र स्थगन गर्न पर्यो ।’ पूर्व शहरी विकास मन्त्री झाँक्रीले आफू मन्त्री रहँदा मेयर साहसँग बसेर केही योजना बनाएको स्मरण पनि गरेकी छिन् ।
उनले भनेकी छन्, ‘सुकुम्बासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ । मलाई जस्तो दलीय दवाव मेयर बालेन जीलाई हुँदैन । म सधैं तपाईंसँगै छु, तपाईंको पछाडि । यसलाई जारी राख्नुहोस् ।’