बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर ओलीले के भने ?



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बुधबार बिहान एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, नागरिकता विधेयक लगायतका विषयमा छलफल भएको बताइएको छ ।

भेटमा एमाले अध्यक्ष ओलीले निर्वाचनको मिति घोषणाका बेला सरकारले आफूहरूसँग परामर्श नगरेको भन्दै निर्वाचन निष्पक्ष, धाँधलीरहित हुनुपर्नेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् । त्यस्तै शान्ति प्रक्रियाबारेमा पनि प्रधानमन्त्री र एमाले अध्यक्षबीच कुराकानी भएको छ ।


ओलीले राष्ट्रपतिले फिर्ता गरेपछि फेरि संसदमा पुगेको नागरिकता विधेयकबारे पनि प्रधानमन्त्री देउवासँग कुरा राखेका छन् । त्यसैगरी ओलीले प्रधानमन्त्री देउवालाई मूल्यवृद्धि नियन्त्रण गर्न ध्यानाकर्षण गराएका छन् ।

भेटवार्तामा सहभागी कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीले राखेका विषयमा प्रधानमन्त्री देउवाले सकारात्मक रूपमा लिएको जानकारी दिए ।

प्रधानमन्त्रीले निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुने भएकोले यसमा चिन्ता नगर्न ओलीलाई आग्रह गरेका थिए । भेटमा एमाले उपाध्यक्ष विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्की सहभागी थिए ।