प्राधिकरण र नेपाल प्रहरीबीच चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर



काठमाडौँ । नेपाल प्रहरीका कार्यालय मातहतका २५ ठाउँमा विद्युतीय चार्जिङ स्टेसन बनाइने भएको छ । नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच चार्जिङ स्टेसन निर्माण तथा सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रहरी कल्याण कोषद्वारा हाल सञ्चालित ५ वटा पेट्रोल पम्प, प्रस्तावित ४ वटा पम्प र बाँकी प्रहरी कार्यालयहरुका अन्य उपयुक्त स्थान गरी २५ ठाउँमा चार्जिङ स्टेसन स्थापना गरिने छ । चार्जिङ स्टेसन दीर्घकालीन रुपमा प्रहरी कल्याण कोष मातहत सञ्चालन हुने छन् । सम्झौताअनुसार प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गर्ने छ ।


उपकरणको मर्मत तथा नियमित सर्भिसिङ समेत प्राधिकरणले नै गर्ने छ । प्रहरीले पूर्वाधार निर्माणका लागि उपयुक्त स्थान उपलब्ध गराउने छ र निर्माण भएपछि चार्जिङ स्टेसनको सञ्चालन तथा सुरक्षा गर्ने छ । चार्जिङ स्टेसन सञ्चालन गर्दा प्राधिकरणले समयानुकुल निर्धारण गरेको दरमा सर्वसाधारणलाई समेत सर्वसुलभ रुपमा उपयोग गर्न पाउने व्यवस्था गर्नु पर्ने छ ।

सवारी साधन चार्ज गर्दा उपभोक्ताले तिर्ने महसुल प्राधिकरणले संकलन गर्ने छ । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले विद्युतीय सवारी साधनको प्रयोग गरी मुलुकभित्र उत्पादित विद्युत् खपतका लागि चार्जिङ स्टेसन स्थापनाको समझदारी हुनु ऐतिहासिक अवसर भएको बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले २५ स्थानमा अत्याधुनिक स्मार्ट चार्जिङ स्टेसन स्थापना गर्न समझदारी हुनुले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न मद्दत पुग्ने बताए । प्राधिकरणले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न देशैभरी ५१ स्थानमा छिट्टो चार्ज गर्न सक्ने अत्याधुनिक चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।