प्रधानमन्त्री देउवाको आश्वासन पछि मधेश प्रदेश सरकारको आन्दोलन स्थगित



जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ ।

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह जनकपुर आएकै दिन मंगलबार मधेश प्रदेश सरकारले आन्दोलन रोकेको हो । मुख्यमन्त्री लालबाबु राउतसँग महानिरीक्षक सिंहले भेट गरेका थिए । मधेस सरकारले आन्दोलन रोक्ने घोषणा गरेपछि मात्रै सिंहले राउतसँग भेटवार्ता गरेका हुन् ।


महानिरीक्षक सिंह प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा सहभागी हुन जनकपुर आएका हुन् । कार्यक्रममा मधेसका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह सहभागी भएका थिए । प्रदेश प्रमुखको कार्यालय अगाडि मधेस सरकारले तीन दिनदेखि धर्ना दिँदै आएको थियो ।

प्रधानमन्त्री देउवाले चुनावछि अर्को गठबन्धनको सरकारले प्रहरी समायोजन गर्ने मौखिक आश्वासनको आधारमा प्रदेश सरकारले आन्दोलन फिर्ता लिएको हो । निर्वाचनपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ भन्ने प्रधानमन्त्री देउवाले मौखिक आश्वासन दिएकाले आन्दोलन स्थगित गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताए ।