पक्राउ पूर्जीको प्रतिवाद गर्ने विप्लवको चेतावनी



काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्ना नेताहरुविरुद्ध जारी पक्राउ पूर्जीको प्रतिवाद र प्रतिकार गर्ने बताएको छ । सोमबार ललितपुर जिल्ला अदालतले जारी पक्राउ पूर्जीपछि नेकपाका प्रवक्ता खड्गबहादुर विक प्रकाण्डद्वारा जारी विज्ञप्तिमा पार्टी विरुद्धका सबै कदम रोक्न सरकारसँग जोडदार माग गरिएको छ । अन्यथा भोलि हुने कुनै पनि गम्भीर अवस्थाको जिम्मेवार सरकार नै हुनुपर्ने चेतावनी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देश र जनताका विद्यमान यावत समस्याका विरुद्ध संघर्ष गरिरहेको हाम्रो पार्टी र नेतृत्वका विरुद्ध गरिएको आजको षड्यन्त्रले अन्तत्वगत्वा अमेरिकी साम्राज्यवादी हस्तक्षेप, दलाल पूँजीपति तथा सामाजिक दलाल पूँजीपतिको आत्मसमर्पण र जनविरोधी चरित्रलाई नै मलजल पुर्याएको छ । यसको प्रतिवाद गर्न र जनप्रतिरोधमा उत्रिन देशको वौद्धिक जगत, मानवअधिकार एवं कानुनी क्षेत्र, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, वामपन्थी, क्रान्तिकारी शक्ति, पत्रकार जगत र आम नेपाली जनतामा हाम्रो पार्टी विशेष अपील गर्दछ ।’