नोएडामा केही सेकेन्डमै धुलोमा परिणत भयो ३२ तले ट्विन टावर



भारतको राजधानी नयाँदिल्लीसँगै जोडिएको नोएडामा अनधिकृत रुपमा बनाइएको ३२ तले ट्विन टावर आइतबार भत्काइएको छ । १ सय ३ मिटर उचाइ भएका ३२ तलाका दुई अग्ला भवनलाई आधुनिक प्रविधिको प्रयोग गरेर ९ सकेन्डमै पूर्ण रुपमा भत्काइएको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा देखिए अनुसार तासको पत्ता जस्तै गरी बहुतले भवन केही सेकेन्डमै धुलोमा परिणत भएको छ । भारतीय समय अनुसार आइतबार दिउँसो २ बजेर १५ मिनेटमा दुईवटै भवनमा बम विष्फोट गराइएको थियो । विष्फोट भएको ९ सेकेन्डमै दुवै भवन धुलोमा परिणत भएका थिए ।


भवन रहेको क्षेत्रको आकाश धुलोले ढाकिएको थियो । उत्तर प्रदेशमा पर्ने नोएडाको ९३ सेक्टरमा सुपरटेक कम्पनीले अनुमति पाएको भन्दा फरक ढंगलले उक्त दुवै भवन निर्माण गरेको थियो । सन् २००४ मा नोएडाका अधिकारीहरूले सुपरटेक हाउजिङलाई १० तलाको १४ वटा टावर बनाउने अनमुति दिएको थियो । तर सुपरटेकले अनुमति विपरीत ३२ तलाको निर्माण गरेको थियो ।