नागरिकतामा अपमानजनक नाम नलेख्न र विगतमा जारी भएकाको सच्चाउन गृह मन्त्रालयको निर्देशन



काठमाडौँ । गृह मन्त्रालयले ‘अपमानजनक’ शब्द प्रयोग गरी नागरिकता जारी नगर्न र यसअघि जारी भएका नागरिकता पनि सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

अपमानजनक नामहरु राखी नागरिकता प्रमाणपत्र जारी भएकोबारे समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले यस विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।


गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गरी अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न र अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।